साहित्य

सोँच्दैछु , एक थान कविता लेखुँ ।

सोँच्दैछु , एक थान कविता लेखुँ ।

-प्रेमध्वज गाहा मगर

सोँच्दैछु ,,

एक थान कविता लेखुँ ।

धेरै,,भयो मथिङ्गलमा

आँधी तुफान चलेको ,

प्रयास गरेँ कत्ति शान्त पार्न ,

तर , अहँ,,कुनै छाँटकाँट देखिनँ रोकिने ।

बरु जत्ति प्रयास गर्छु अझ,बेग बेगले चल्दै पो छ ।

हिजो होइन , अस्ति होइन धेरै अघिदेखि ,

त्यसैले सोँच्दैछु

एक थान कविता लेखुँ ।

एक रत्ति पनि गुनासो रहने छैन,

मेरो कविता, कविताको कोटीमा नपरोस् बरु ।

बाल छैन सत्ताको भाषा बोल्ने साहित्यिक कानुनले,

कविता भनोस या नभनोस ,

मेरो आफ्नो लागि त हुनेछैन त्यो,

शेली,ह्युजेज,वर्ड्स्वर्थ भन्दा कम,

बरु अब्बल नै हुनेछ तिनीहरुभन्दा,

त्यसैले सोँच्दैछु,

एक थान कविता लेखुँ ।।

भनिसकेँ ,मेरो खोपडीमा

प्रश्नहरुको आँधी तुफान चलिरहेको छ ।

जब पढ्छु ,

मेरा पुर्खाले जितेर पनि हारेको इतिहास ।

मेरो भाषाले उपेक्षा खेपेको यथार्थ ।

मेरो नाक, आँखा, र उचाइ योग्यताको ,

कसी भित्र नपरेको पीडा ।

मेरो आमाको ढुँग्री मुन्द्री , बाबाको कछाड,

दाजुभाइले बस्ने रोदी झाम्रे ,

राज्यको आँखामा निम्न स्तरको बनेको देख्दा ।

जब गाउँमा मिजार दाइहरु ,

निर्घात कुटिएको समाचार पढ्छु ,

चुल्हो छोएको निहुँमा ।

शहरमा डेरा नपाएको गुनासो सुनाउँछ साथी,

कथित तल्लो जात भएकोले ।

जब अजित मिजारहरु गाडिन्छन् खाल्डोमा

फगत अन्तरजातीय विवाह गरेकोमा ।

ढेँगनी देबी महत्तोहरुको झिकिन्छन आँखा,

र जलाइन्छन जिउँदै बोक्सीको आरोपमा ।

जब राज्यले नै गर्छ,

विभेद पशुहरुमा पनि ,

यो खाने , त्यो नखाने भनेर ,

एउटाले पुज्ने, अर्कोले खाँदा हालिन्छन जेल ।

योग्यता क्षमताको दुहाइ दिने,

अभिजातहरुले ,

पार्वती थापा र प्रेमप्रकाशहरुलाई छिर्के हान्छन् ।

देशलाई नयाँ युगतर्फ डो¥याउने,

खपाँगी , किराँती , बादल, देव गुरुङहरु ,

पारिन्छन् ओझेलमा ।

जब देख्छु खेतबारी बाँझो राखेर

युवाहरु पासपोर्ट च्यापेर अरव भासिएको ।

धर्म निरपेक्षता , गणतन्त्र,समाबेशीता ,

रछ्यानमा मिल्किँदै गरेको ,

देश अधोगति तर्फ उन्मुख हुँदै गरेको ।

समृद्ध नेपालको सपना तुहिँदै गरेको ।

हो , यी सब सम्झिँदा

मेरो मस्तिष्कमा असाध्य ठु,,लो हुण्डरी चल्छ,

प्रश्नहरुको ,,,

धेरै भयो राति,

राम्रो निदाउन नसकेको छटपटीले ।

त्यसैले सोँच्दैछु ,

एक थान कविता कस्सैगरी लेखुँ ।।

Enjoy this Magarmedia News Site? Please spread the word :)