फोनिज कास्कीको अध्यक्षमा एमबी आस्था मगर सर्वसम्मत !

रूद्र श्रीसमगर
पोखरा, २६ माघ

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको बुधबार पोखरामा सम्पन्न पाँचौ जिल्ला अधिवेशनले तीन वर्षे कार्यकालका लागि एमबी आस्था मगरको अध्यक्षतामा १३ सदस्यीय सर्वसम्मत कार्यसमिति गठन गरेको छ ।

‘समावेशी सञ्चारका लागि हाम्रो अभियान, तमुवानसहितको संविधान संशोधनको पक्षमा पाँचौं जिल्ला अधिवेशन’ नाराका साथ पोखरा–९ नयाँबजारस्थित तमु धिं नेपालमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा दिलप्रसाद गुरुङ, सचिवमा भूपाल गुरुङ, सह–सचिवमा विना थापामगर, कोषाध्यक्ष उमा आलेमगर चयन हुनुभएको छ । यसरी नै सदस्यहरूमा गीता रानामगर, दुर्गा रानामगर, सुशील श्रेष्ठ, छवि घर्तीमगर, रमेश गुरुङ, सोनिया लामा तामाङ, सम्राट गुरुङ र सुशील ज्वारचन रहनुभएको छ ।

अधिवेशनले प्रादेशिक प्रतिनिधिमा शीला गुरुङ, कञ्चन गुरुङ, सुकबहादुर घले र पर्यवेक्षकहरूमा इन्दिरा गुरुङ र सन्देश श्रेष्ठ चयन हुनुभएको छ ।
यसैगरी केन्द्रीय प्रतिनिधिहरूमा हुमबहादुर गुरुङ, सरस्वती गुरुङ, शान्ति गुरुङ, रूद्रबहादुर थापामगर, राजबहादुर गुरुङ, रूद्रबहादुर श्रीसमगर, खेमबहादुर सारूमगर, जीतबहादुर गुरुङ, युग गुरुङ, मीना थापामगर, रोशनी गुरुङ र पर्यवेक्षकमा खड्कजंग गुरुङ चयन हुनुभएको छ ।

नवनिर्वाचित कार्यसमिति र प्रादेशिक एवं केन्द्रीय प्रतिनिधिहरूलाई निर्वाचन समितिका संयोजक रूद्रबहादुर थापामगरले पद तथा गोपनीयताका सपथ ग्रहण गराउनुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष एमबी आस्थाले आफ्नो कार्यकालमा आदिवासी जनजाति पत्रकारहरूलाई पुरस्कृत गर्नका लागि अक्षयकोष स्थापनाको पहल गर्ने, समुदायसँग सहकार्यमा कार्यक्रमहरू गर्ने, सञ्चार माध्यमहरूमा मातृभाषाका समाचार कार्यक्रमहरूको लागि पहल गर्ने भन्नु हुँदै पत्रकार महासंघको निर्वाचनमा आदिवासी जनजाति पत्रकारको नेतृत्व स्थापित, समावेशीतालाई जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले बधाई तथा शुभकामना व्यक्त गर्नुहुदै आदिवासी जनजातिले उठाउँदै आएको समावेशीताको मुद्धा सबै भन्दा पहिला पत्रकार महासंघबाट सुरुवात गर्ने बताउनुभयो । समावेशीताका लागि आवाश्यक परे महासंघमा हस्तपेक्षकारी भूमिका निर्वाह आग्रह गर्नुहुँदै उहाँले आउँदो पत्रकार महासंघको निर्वाचनमा समावेशीताको परिणाम प्रस्तुत गर्न कास्कीमा आदिवासी जनजाति पत्रकारलाई जिताउनुपर्नेमा जोड दिनुभयो । यस अघि उद्घाटन समारोहमा उहाँले समानता चाहने र समावेशीताको माग गर्नेलाई जातीयताको नाउँमा खुट्टा काट्ने धम्की दिएकाहरूले समावेशिता स्विकार्नुपर्ने बताउनुभयो । जातका आधारमा लामो समयदेखि शासकहरु विभेद गरिरहने अनि आदिवासी जनजातिलाई जातीयता देख्नेहरूले वास्तविकता बुझ्नुपर्ने बताउनुभयो ।

तमु धिं नेपालकी अध्यक्ष तथा कर्म–कर्ण आदिवासी जनजाति पत्रकारीता पुरस्कार स्थापनाकर्ता कर्म तमुले शुभकामना व्यक्त गर्नुहुँदै आवाज विहीन आदिवासी जनजातिका आवाज सञ्चार माध्यमहरू बन्नुपर्नेमा त्यसो हुन नसकेका कारण फोनिज स्थापना भएको बताउनुभयो । उहाँले आवाज विहीनका आवाज बुलन्द गर्नका लागि आफूले सानै भए पनि पुरस्कारबाट आदिवासी जनजाति पत्रकारलाई प्रोत्साहित गर्न चाहेको बताउनुभयो ।

फोनिजका केन्द्रीय महासचिव तथा कास्कीका निर्वाचन प्रतिनिधि गजुरधन राईले फोनिजवादलाई स्थापित गर्दै समावेशी सञ्चारको अभियानलाई सशक्त बनाउन पत्रकार महासंघलाई समावेशीताको नमुना बताउनुपर्ने बताउनुभयो ।

संगठन सचिव मनोज घर्तीमगरले विविधताको मुलुकमा समावेशीताबाट नै मुलुकले समृद्धि पाउने भन्नुहँुदै पहिचानसहितको प्रदेश स्थापना गर्न सके मात्रै आदिवासी जनजाति समुदायले अधिकार पाउने बताउनुभयो ।

कार्यक्रममा सल्लाहकार तथा पत्रकार महासंघ कास्कीका अध्यक्षका प्रत्यासी दीपेन्द्र श्रेष्ठ मन्तव्य व्यक्त गर्नुहुँदै हाम्रो महासंघ राम्रो महासंघ निर्माणका लागि आफुलाई सहयोग गर्नु आग्रह गर्नुभयो ।

ब्रोडकास्टिङ एशोसिएशन अफ नेपाल (बान) का केन्द्रीय उपाध्यक्ष तथा पत्रकार महासंघ कास्कीका अध्यक्षका प्रत्यासी रमेश पौडेलले आफू जातले आदिवासी जनजाति नभए पनि भावनाले आदिवासी जनजाति भएको भन्दै आफूलाई निर्वाचनमा सहयोग गर्न आग्रह गर्नुभयो ।

फोनिज कास्कीका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराल, प्रेस चौतारीका अध्यक्ष माधव बराल, प्रेस सेन्टरका अध्यक्ष विभु भुसाल, आदिवासी जनजाति महासंघ कास्कीका उपाध्यक्ष पूर्णबहादुर रानामगर, तमु प्ये ल्हु संघ केन्द्रीय महासचिव शान्ति गुरुङ, तमु सञ्चारकर्मी संघ केन्द्रीय अध्यक्ष मीना गुरुङ, नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष तथा फोनिज कास्कीका संस्थापक अध्यक्ष रूद्रबहादुर थापा, तमु Þयुल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य तथा कास्कीका सचिव चेतबहादुर गुरुङ, फोनिज पश्चिमाञ्चल क्षेत्रीय संयोजक देव पचभैयामगरलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । स्वागत उपाध्यक्ष रूद्रबहादुर श्रीस र सञ्चालन सचिव रोशनी गुरुङले गर्नुभएको थियो भने हिमाली सांस्कृतिक परिवारका कलाकारहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

अध्यक्ष मण्डल तथा निर्वाचन समितिका संयोजक रूद्रबहादुर थापा, सदस्य सरस्वती गुरुङ र राजबहादुर गुरुङद्वारा सञ्चालित बन्द सत्रमा सचिव रोशनी गुरुङले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष मीना थापा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

अध्यक्ष मण्डलका अध्यक्ष रूद्रबहादुर थापाको अध्यक्षतामा भएको दोश्रो सत्रको कार्यक्रमको सञ्चालन राजबहादुर गुरुङले गर्नुभएको थियो ।

यसै विच नवनिर्वाचित फोनिज कास्कीको पहिलो बैठकले सहयोगीहरु सबैलाई धन्यवाद व्यक्त गरेको छ भने सल्लाहकार संयोजकमा निवर्तमान अध्यक्ष हुमबहादुर गुरुङलाई मनोनयन गरेको छ । सल्लाहकार संयोजक गुरुङलाई पत्रकार महासंघ कास्कीको निर्वाचनमा महासंघलाई समावेशी बनाउन समन्वयकारी भूमिकाका लागि जिम्मेवारी समेत प्रदान गरिएको अध्यक्ष एमबी आस्था मगरले जानकारी दिनुभयो ।

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)